काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन डेढ महिनापछि संसद् बैठकमा उपस्थित भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठक चलिरहँदा प्रधानमन्त्री बालेन रास्वपा सभापति रवि लामिछानेका साथ प्रवेश गरेका थिए ।
प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछाने संसद् बैठक प्रवेश गर्दा रास्वपा सचेतक खुश्बु ओलीले बोलिरहेकी थिइन् । प्रतिनिधिसभा विनियमावलीमा संसद् जारी रहँदा सभामुखलाई जानकारी नदिई कोही पनि प्रवेश गर्न पाउँदैन । सांसद ओलीले आफ्नो भनाइ सकेलगत्तै एमाले सचेतक ऐन महरले नियमापत्ति जनाएका थिए । उनले सभामुख डोलप्रसाद अर्यालको अनुमति नलिई बालेन र रवि संसद् बैठक प्रवेश गरेका थिए ।
आजको प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति रवि लामिछानेले विशेष सम्बोधन गर्ने बताइएको छ । सोही कारण बालेन उपस्थित भएका हुन् ।
बालेन गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। त्यतिबेला सांसदसँगको प्रश्नोत्तरका क्रममा उनले ‘नेपाल पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षी दलले विरोध जनाउँदै आएका छन्। प्रधानमन्त्री शाहले संसद्मा आएरु त्यसबारे प्रस्टीकरण दिनुपर्ने माग गर्दै आएका छन्।





