काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेटमा पुनः नाकाबन्दी लागू गर्ने र उक्त समुद्री मार्ग प्रयोग गर्ने मालवाहक जहाजबाट २० प्रतिशत शुल्क उठाउने घोषणा गरेका छन्। ट्रम्पको घोषणाप्रति इरानले कडा प्रतिक्रिया जनाउँदै हर्मुजको व्यवस्थापनमा कुनै पनि अमेरिकी हस्तक्षेप स्वीकार नगर्ने चेतावनी दिएको छ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले हर्मुज स्ट्रेट खुला रहने तर ‘इरानी नाकाबन्दी’ पुनः लागू गरिने बताएका छन्। उनका अनुसार नाकाबन्दीको उद्देश्य इरानी जहाज तथा इरानसँग सम्बन्धित ग्राहकका जहाजको आवतजावत रोक्नु हो भने अन्य देशका जहाजले भने जलमार्ग स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनेछन्।

ADVERTISEMENT

ट्रम्पले अबदेखि संयुक्त राज्य अमेरिकालाई ‘हर्मुज स्ट्रेटको संरक्षक’का रूपमा प्रस्तुत गर्दै समुद्री मार्गको सुरक्षाका लागि लाग्ने खर्च बेहोर्न प्रत्येक मालवाहक जहाजबाट २० प्रतिशत शुल्क असुल्ने व्यवस्था तत्काल लागू गरिने बताएका छन्। अमेरिकी सेनाका अनुसार ट्रम्पको आदेशपछि मंगलबार राति ८ बजेदेखि इरानी बन्दरगाह लक्षित नाकाबन्दी पुनः लागू हुनेछ।

ADVERTISEMENT

यता, इरानको शीर्ष सैन्य मुख्यालय ‘खातम अल-अन्बिया’ले विज्ञप्ति जारी गर्दै हर्मुज स्ट्रेटमा अमेरिकाको हस्तक्षेप क्षेत्रीय सुरक्षाका लागि गम्भीर खतरा भएको जनाएको छ। इरानले हर्मुजको नियन्त्रणमा अमेरिका प्रवेश गर्न नदिने र त्यसका लागि हुने कुनै पनि सहयोगलाई आफ्नो सार्वभौमसत्ताविरुद्धको कदम मानिने चेतावनी दिएको छ।

इरानी सेनाले द्वन्द्व थप चर्किए त्यसको असर सम्पूर्ण क्षेत्रमा फैलिन सक्ने भन्दै अमेरिकालाई संयम अपनाउन आग्रह गरेको छ।

ADVERTISEMENT