काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध चाँडै अन्त्य हुने संकेत गरेका छन् । उनले अहिले इरानसँगको वार्ता प्रक्रिया ‘राम्ररी अगाडि बढिरहेको’ भन्दै छिट्टै अन्त्य हुने बताएका हुन् ।

लस भेगासमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिका र इजरायलले फेब्रुअरी अन्त्यतिर इरानमाथि आक्रमण सुरु गरेपछि स्थिति आफ्नो नियन्त्रणमा रहेको पनि दाबी गरे। ‘सबै कुरा उत्कृष्ट छ, हाम्रो सैन्य शक्ति विश्वमै सबैभन्दा शक्तिशाली छ,’ ट्रम्पले भने ।

ADVERTISEMENT

ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्न आफू स्वयं इस्लामाबाद जान सक्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारसित उनले इरानसँगको शान्ति वार्ता र पाकिस्तान जाने सम्भावनाबारे प्रतिक्रिया दिएका थिए ।

‘पाकिस्तानका फिल्ड मार्सल र त्यहाँका प्रधानमन्त्रीले धेरै राम्रो काम गरिरहेका छन् । म त्यहाँ जान सक्छु,’ पाकिस्तानी नेतृत्वको प्रशंसा गर्दै उनले भने । मंगलबार ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा अमेरिका र इरानबीचको वार्ता पुनः सुरु हुन सक्ने बताएका थिए ।

ADVERTISEMENT

कार्यक्रममा ट्रम्प आफ्नो ‘नो ट्याक्स अन टिप्स’ .टिप्समा कर नलगाउने) नीतिको प्रवर्द्धन गर्न उपस्थित भएका थिए। यस नीतिअनुसार धेरै कामदारहरूको टिप्सबाट प्राप्त आम्दानीमा संघीय आयकर हटाइएको छ।

यसअघि पनि ट्रम्पले पटक–पटक युद्ध छिट्टै अन्त्य हुने दाबी गर्दै आएका छन्। तर, क्षेत्रीय तनाव अझै पूर्ण रूपमा अन्त्य भइसकेको छैन। ट्रम्पले अमेरिका र इरानबीच दोस्रो चरणको प्रत्यक्ष वार्ता आगामी सप्ताहन्ततिर हुन सक्ने बताएका छन्।
उनले इजरायल र लेवनानबीच १० दिने युद्धविराम भएको जानकारी दिएका छन्। तर, इरानले भने अमेरिकासँगको १० दिने युद्धविरामकै बीच इजरायलले लेबनानमाथि आक्रमण जारी राखेको भन्दै असन्तुष्टि जनाएको छ।