काठमाडौं । कान्तिपुर पब्लिकेसन, बाह्रखरी, अनलाइनखबर र हिमालय टेलिभिजनको मुख्य प्रवेशद्वारमै निजी सवारीसाधन शंकास्पद ढंगले पार्किङ गरिएको छ ।
कसले किन र के प्रयोजनका लागि निजी गाडी पार्किङ गरेर हिँडेको हो भन्ने खुल्न सकेको छैन । मिडियाले जानकारी गराएपछि प्रहरीले अहिले कान्तिपुर पब्लिकेसन अगाडि पार्किङ गरी राखेको गाडीलाई क्रेनको सहायताले उठाएर लगेको छ । गाडी तेर्स्याएर पत्रकार र सञ्चारगृहका सवारीलाई बन्धक बनाइएको घटनाले सनसनी मच्चाएको छ ।
सोमबार बिहानैबाट मिडिया हाउसका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी रोकिएपछि प्रहरीलाई खबर गरिएको थियो । हिमालय टेलिभिजन र अनलाइन खबर अनलाइनका ग्रुप सम्पादक उमेश चौहानले मिडिया हाउसका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ हुँदा बाधा परेको लेखेका छन् ।
‘कान्तिपुर, अनलाइनखबरलगायत मिडिया अफिसअगाडि शंकास्पद गाडी पार्किङ’, चौहानले लेखेका छन्, ‘कार्यालयको गेटमा पार्क गरिएको गाडीका कारण पत्रकारहरूलाई सवारीसहित आवतजावत गर्न बाधा पुगेको छ । रिपोर्टिङमा जान पत्रकारहरू रोकिएका छन् ।’
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता डीआईजी गोविन्द थपलियाले कसले मिडिया हाउसमा गाडी राखेर हिँड्यो भन्नेबारेमा खोजी भइरहेको जानकारी दिएका छन् ।
यस्तै, अननामनगर भाटभटेनी अगाडि बिहान ७ बजे राखेको गाडीधनीलाई प्रहरीले खोजीकार्य जारी राखेको छ ।






