काठमाडौँ । नेपाली फिल्मकी चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। उनी हाल काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा चिकित्सकको निगरानीमा उपचाररत रहेकी छन्।
पारिवारिक स्रोतका अनुसार मंगलबार उनको मस्तिष्कको ट्युमर निकाल्ने शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको निगरानीमा थप उपचार भइरहेको जनाइएको छ।
करिब डेढ साताअघि ढाड दुख्ने समस्या भएपछि दीपाश्री स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी थिइन्। सुरुमा सामान्य स्वास्थ्य समस्या ठानिए पनि चिकित्सकले विस्तृत परीक्षण गरेपछि उनको मस्तिष्कमा ट्युमर रहेको पत्ता लागेको थियो। त्यसपछि चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया गर्ने निर्णय गरिएको पारिवारिक स्रोतले जनाएको छ।
शल्यक्रियापछि दीपाश्रीको स्वास्थ्यमा सकारात्मक सुधार देखिएको र चिकित्सकहरूले केही दिन अस्पतालमै राखेर निगरानी गर्ने तयारी गरेका छन्। परिवारले उनको स्वास्थ्य अवस्थाप्रति चासो लिने शुभेच्छुक, दर्शक तथा आफन्तप्रति आभार व्यक्त गर्दै अनावश्यक हल्लामा विश्वास नगर्न पनि आग्रह गरेको छ।
दीपाश्री नेपाली फिल्म उद्योगकी सफल अभिनेत्री, निर्देशक र निर्मातामध्ये एक हुन्। विशेषगरी ‘छक्का पञ्जा’ श्रृंखलामार्फत उनले नेपाली फिल्म क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेकी छन्। पछिल्लो समय उनी अभिनयसँगै निर्देशन र निर्माणमा पनि सक्रिय छिन्।
उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा कलाकार, शुभेच्छुक र प्रशंसकहरूले शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरिरहेका छन्।





