काठमाडौं – अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न स्थानका पाँच प्रमुख राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी यातायात सञ्चालन गरिएको छ।

प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग, मेची राजमार्ग, बीपी राजमार्ग, कान्तिलोकपथ तथा कास्कीको पोखरा–ताङतिङ सडकखण्डका विभिन्न स्थानमा यातायात अवरुद्ध भएको छ।

ADVERTISEMENT

भोजपुर नगरपालिका–५, बोखिमस्थित मध्यपहाडी लोकमार्गमा आएको बाढीपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ। यस्तै, इलाम नगरपालिका–९, राजदुवालीस्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटन्जेबेंसी सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा गत असार २२ गतेदेखि नै यातायात बन्द गरिएको हो।

ADVERTISEMENT

यता, मकवानपुरको भीमफेदी गाउँपालिका–५, भर्‍याडाँडास्थित कान्तिलोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। कास्कीको मादी गाउँपालिका–२, ज्याम्दो क्षेत्रमा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।