काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध एक हजार मिसाइल तयारी अवस्थामा राखिएको भन्दै चेतावनी दिनुभएको छ ।
ट्रुथ सोसलमा लेख्दै ट्रम्पले आफूमाथि हत्याको प्रयास भएमा थप हजारौँ मिसाइलले इरानका सबै क्षेत्र ध्वस्त पारिने चेतावनी दिनुभएको हो । इरानका सर्वोच्च नेता अलि खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरूले ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहुलाई मार्नुपर्ने नारा लगाएका थिए ।
नेटो शिखर सम्मेलनमा ट्रम्पले आफू इरानको हत्या सूचीमा पहिलो स्थानमा रहेको दाबी गर्नुभएको थियो । वाल स्ट्रिट जर्नल र सीएनएनका प्रतिवेदनअनुसार इजरायली गुप्तचर निकायले ट्रम्पलाई नयाँ हत्या षड्यन्त्रबारे जानकारी गराएको छ ।
ट्रम्प गएको वर्ष बटलर र्यालीमा भएको गोलीकाण्ड सहित विगतमा कम्तीमा पाँच पटक हत्याको निशानामा परिसक्नुभएको छ । इरान–अमेरिका पछिल्लो हप्ता फेरि आक्रमण–प्रत्याक्रमणमा जुटेका छन् । यसबाट गएको जुन १७ तारिखमा भएको युद्ध विराम सम्झौता सङ्कटमा परेको छ ।
अमेरिकाले हर्मुज जलमार्ग खुला राख्न माग गरेको छ, जुन विश्वको ठूलो हिस्सा तेल तथा ग्याँस निर्यातको बाटो हो । ट्रम्पले हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विस्वास नदिलाएसम्म वार्ता अघि नबढ्ने बताउनुभएको छ ।





