काठमाडौं — गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नभई देश र जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री गुरुङले सरकारको कामको आलोचना गर्नेहरूलाई लक्षित गर्दै केवल भाषण र नाराभन्दा काम महत्त्वपूर्ण हुने बताएका हुन्।

ADVERTISEMENT

उनले सांसदहरूलाई सम्बोधन गर्दै घाँटी चिच्याएर मात्र जनताको सेवा नहुने जिकिर गरे।

ADVERTISEMENT

‘घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन। त्यो मुखले बोलेको ५०औँ वर्ष भइसक्यो। हामीले हातले गर्नुपर्छ,’ उनले भने, ‘आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ। त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ। मलाई कसैका लागि स्टन्टबाजी गर्ने इच्छा छैन। म आफ्नो देशको सेवा गर्न आएको हुँ।’

गृहमन्त्री गुरुङले सरकारले समस्याको समाधानका लागि टोली बनाएर काम गरिरहेको पनि बताए। उनले गणेश नेपालीको उपचारका क्रममा सरकारले गरेका प्रयासबारे उल्लेख गर्दै आलोचना गर्ने सांसदहरूलाई प्रतिप्रश्नसमेत गरे।

ADVERTISEMENT

‘हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टोली बनाएर छलफल गरिरहेका थियौँ। म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ,’ उनले भने।

गणेश नेपालीको उपचार र निधनको घटनापछि सरकारको भूमिकामाथि संसद्मा चर्को आलोचना भइरहेका बेला गृहमन्त्री गुरुङले आफू प्रचारका लागि नभई कामका लागि सरकारमा आएको स्पष्ट पारे।