काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर व्यापक तयारी गरिरहेको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गरिने बताएका हुन्।
गृहमन्त्री गुरुङले औपचारिक निरीक्षणभन्दा नागरिकको प्रत्यक्ष सुरक्षा, उद्धार र राहत कार्यलाई केन्द्रमा राखेर काम भइरहेको उल्लेख गरे। सम्भावित विपद्का घटनामा तत्काल प्रतिक्रिया जनाउन सक्ने गरी आवश्यक संयन्त्र र समन्वय प्रणाली तयार पारिएको उनको भनाइ छ।
उनले मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग तथा निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण हुन सक्ने अवरोध हटाउन गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच समन्वय भइरहेको जानकारी दिए।
सडक अवरोध भएको अवस्थामा नजिकै रहेका डोजर तथा उपकरण तुरुन्त परिचालन गर्न सकिने गरी विशेष डिजिटल प्रणाली (एप) विकास गरिएको पनि उनले बताए। उक्त प्रणालीमार्फत उपकरणको अवस्थिति पहिचान गरी छिटो सडक खुलाउने व्यवस्था मिलाइएको उनको भनाइ छ।
गृहमन्त्री गुरुङले विगतका अनुभवबाट सिक्दै यस वर्ष विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै प्रहरी र अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिइएको जानकारी समेत दिए।
उनले अघिल्ला सरकारले थालेका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै देखिएका कमजोरी सुधार गरेर विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाइने बताए।






