काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन प्राथमिकता निर्धारण गरेर मात्र गर्नुपर्ने बताएका छन्।

बिहीबार पार्टी कार्यालयमा आयोजित संविधान संशोधनसम्बन्धी बहस कार्यक्रममा बोल्दै उनले सरकारले संविधान संशोधनका विषयमा अपनाएको प्रक्रिया उपयुक्त नभएको टिप्पणी गरे।

ADVERTISEMENT

थापाले संविधान संशोधनका लागि सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा समिति गठन गर्न वा संसद् भित्रै विशेष समिति बनाएर अघि बढ्न सकिने सुझाव दिए।

उनका अनुसार पहिलो चरणमा संवैधानिक आयोगहरूको पुनरावलोकन र दोस्रो चरणमा सुशासन तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषयमा संशोधन गर्न सकिन्छ।

ADVERTISEMENT

उनले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खुला गर्दा अराजकता र जटिलता निम्तिन सक्ने चेतावनी दिए। सरकारलाई संविधान संशोधनमा सहयोग गर्न कांग्रेस तयार रहे पनि पूर्वाग्रह वा उत्तेजनामा आधारित प्रक्रिया स्वीकार्य नहुने उनको भनाइ थियो।

सभापति थापाले नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्र, पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयमार्फत संविधान संशोधनबारे स्पष्ट धारणा सार्वजनिक गरिसकेको उल्लेख गरे। लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, संसदीय शासन प्रणाली, बहुजातीयता र बहुधार्मिकताजस्ता संविधानका आधारभूत विषयमा कुनै सम्झौता नहुने उनले स्पष्ट पारे।

उनले संविधानको मूल मर्मलाई अक्षुण्ण राख्दै सुशासन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले संविधान संशोधन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए।