काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ।

प्रहरीका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपाली हुन्। उनी पेसाले पठाओ (राइड सेयरिङ) चालक रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखिएको भन्दै उनको मोटरसाइकलमा ह्वील लक लगाएपछि उनी आक्रोशित बनेका थिए। त्यसपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा छर्किएर आगो लगाएको पाइएको प्रहरी स्रोतले जनाएको छ।

घटना बिहीबार दिउँसो करिब १:४५ बजे राहदानी विभागको ३ नम्बर गेट नजिक भएको थियो। घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल आगो निभाएर घाइतेको उद्धार गर्दै उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो।

ADVERTISEMENT

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गणेश नेपालीको अवस्था गम्भीर छ। उनको शरीरका विभिन्न भाग जलेका छन् भने हाल उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।