काठमाडौं । नेपाली लोक सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन कार्यक्रम सुरु हुने भएको छ।
एभेन्टोज स्टुडियोको आयोजनामा हुने शोले देशका विभिन्न जिल्लामा रहेका मौलिक लोक प्रतिभालाई राष्ट्रिय स्तरमा अवसर उपलब्ध गराउने लक्ष्य लिएको छ। दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउन सातै प्रदेश समेटिने गरी अडिसन अभियान सञ्चालन गरिने आयोजकले जनाएको छ।
शोको मुख्य निर्णायक मण्डलमा गायिका कोमल वली तथा गायक राजु परियार र चन्द्र शर्मा रहनेछन्। पहिलो संस्करणको सफलतापछि आयोजकले दोस्रो संस्करणको अडिसन तालिका सार्वजनिक गर्दै तयारीलाई तीव्र बनाएको हो।
सार्वजनिक तालिकाअनुसार अडिसन असार २७ गते इटहरीबाट सुरु हुनेछ। त्यसपछि असार २९ गते चितवन, असार ३१ गते बुटवल, साउन १ गते नेपालगञ्ज, साउन ४ गते पोखरा तथा साउन ८ र ९ गते काठमाडौंमा अडिसन सञ्चालन गरिनेछ।
अडिसनका लागि इटहरीको क्लब के, चितवन गार्डेन रिसोर्ट, बुटवलको ग्रीन भ्याली रेस्टुरेन्ट, नेपालगञ्जको होटल बाटिका, पोखराको साइमन पार्टी प्यालेस तथा काठमाडौंको न्युजा पार्टी भेन्यु एन्ड रेस्टुरेन्टलाई स्थल तोकिएको छ।
प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली महिला तथा पुरुषले आवेदन दिन सक्नेछन्। मौलिक लोक संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ लोक सङ्गीतप्रति रुचि र समर्पण भएका प्रतिभालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।
परम्परागत लोक भाकामा राम्रो दखल, स्पष्ट उच्चारण, भावपूर्ण प्रस्तुति तथा प्रश्न–उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गर्न सक्ने प्रतिभालाई मुख्य मञ्चमा छनोट गरिनेछ। देशभरका उत्कृष्ट लोक प्रतिभालाई समेट्ने यो रियालिटी शो एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ।






