काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक, सन्तुलित तथा निजी क्षेत्रको मनोबल बढाउने खालको भएको जनाएको छ।
महासंघले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बेला मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयास गरेको भन्दै स्वागत गरेको छ। सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिकालाई नीतिले आत्मसात् गरेको महासंघको धारणा छ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले उठाउँदै आएका व्यक्तिगत जमानीको असीमित दायित्व हटाउने, रुग्ण उद्योगको निष्क्रिय कर्जा व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान, सेयर धितो कर्जाको संस्थागत क्षमताअनुसार सीमा निर्धारण तथा सार्वजनिक यातायातका ठूला विद्युतीय सवारीमा कर्जा–धितो अनुपात सहज बनाउने व्यवस्था सकारात्मक रहेको बताए।
महासंघले साना, मझौला तथा ठूला उद्योग–व्यवसायको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणसम्बन्धी व्यवस्था आगामी निर्देशिकामा स्पष्ट रूपमा समेटिनुपर्ने माग गरेको छ।
साथै, नीतिगत दर, बैंक दर, नगद मौज्दात अनुपातलगायतका प्रमुख व्यवस्थालाई यथावत् राख्ने निर्णयले लगानीकर्ताको विश्वास बढाउने र व्यावसायिक वातावरणलाई थप स्थिर बनाउने विश्वास व्यक्त गरेको छ।
महासंघले बैंक तथा वित्तीय संस्थाको डिजिटलाइजेसन, नियामकीय व्यवस्था सरलीकरण र विदेशी विनिमयसम्बन्धी व्यवस्थालाई सहज बनाउने कदमको स्वागत गर्दै व्यापार, लगानी र वैदेशिक कारोबारमा सकारात्मक प्रभाव पर्ने जनाएको छ।
यद्यपि, मौद्रिक नीतिको सफलता यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने उल्लेख गर्दै महासंघले उत्पादनमूलक क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह, वित्तीय क्षेत्र सुधार, कर्जा वर्गीकरणमा लचकता तथा बैंकिङ क्षेत्रको दोस्रो पुस्ताको सुधार कार्यक्रम अघि बढाउन सरकार र राष्ट्र बैंकलाई आग्रह गरेको छ।






