चितवन । पच्चीसजनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो ।

हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

ADVERTISEMENT

हात्तीले गत शनिबार राति एकै परिवारका दुईजनाको ज्यान लिएको थियो । उक्त घटनासहित २५ जनाको सोही हात्तीका कारण मृत्यु भएको अधिकृत पुर्जा पुनले बताए । उनका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको छ ।

हात्तीले मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको गेटमा हानेर सोमबार साँझ स्थानीय दुई घरको अन्न खाएको थियो । ‘हामी तयारी अवस्थामा छौँ, भेटिनासाथ डार्ट गर्छौ, त्यसपछि दाह्रा काट्ने र नयाँ रेडियो कलर लगाउने तयारी छ,’ उनले भने । यसअघि लगाइएको रेडियो कलरले समयमा सूचना दिन नसक्ने भएपछि नयाँ जडानको तयारी गरिएको हो ।

ADVERTISEMENT

हात्तीलाई लगाउने रेडियो कलर आइसकेको छ । उक्त उपकरण जडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयलाई समेत खबर गरेर सतर्कता अपनाउन सहज हुनेछ ।

गत शनिबार राति ध्रुवेले भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो । आमाछोरालाई आक्रमण गरी भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको थियो । घरमै बसिरहेका बेला शनिबार राति अचानक जङ्गलबाट आएको ध्रुवेलाई धपाउन आशिकाका श्रीमान्ले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट भएको छ ।

विसं २०७४ मा नेपाली सेनाका एक सेनानीलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झन्डै नौ वर्षपछि ती दुई आमाछोराको ज्यान लिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीका रूपमा परिचित ध्रुवेले २०६८÷६९ सालताका दैनिकजसो मान्छेको ज्यान लिन थालेपछि मार्न आदेश दिइएको थियो ।