चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा आतङ्क सिर्जना गरिरहेको जङ्गली हात्ती ‘ध्रुवे’ लाई डार्ट गरी दाह्रा काटेर स्याटालाईट जडान गरिएको छ ।
निकुञ्ज प्रशासन र सुरक्षा निकायको संयुक्त टोलीले गएराति ध्रुबेलाई नियन्त्रणमा लिएर स्याटेलाइट कलर जडान गरिएको हो ।
असार २० गते राति चितवन भरतपुर-२३, बेलहट्टा निवासी पूर्ण बोटेकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेको धुर्बे हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। यो घटनासहित ध्रुवे हात्तीले अहिलेसम्म २५ जनाको ज्यान लिइसकेको छ ।
घटनापश्चात् थप जनधनको क्षति हुन नदिन निकुञ्ज कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, नयाँ गोरख गणका नेपाली सेना, मध्यवर्ती उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाहरूको समन्वयमा हात्तीको निरन्तर खोजी र निगरानी भइरहेको जनाएको थियो।
सोही क्रममा बुधबार बेलुका १०ः३० बजेको समयमा निकुञ्जभित्रको सुखिभार पोस्ट नजिकैको क्षेत्रमा हात्ती फेला परेको हो।
फेला पारिएको हात्तीलाई प्राविधिक टोलीले डार्ट गरि बेहोस बनाएर नियन्त्रणमा लिएको थियो । त्यसपछि हात्तीको घाँटीमा स्याटेलाइट प्रविधिमा आधारित कलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
उनका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उसको दाह्रा समेत काटिएको हो । दाह्रा काटिएपछि हात्तीलाई पुनः प्राकृतिक बासस्थान निकुञ्ज जङ्गलमै छाडिएको छ।
निकुञ्जका सूचना अधिकारी थापा मगरका अनुसार, हात्तीको घाँटीमा जडान गरिएको स्याटेलाइट कलर प्रविधिका कारण अब हात्ती कहाँ छ सूचना तत्कालै प्राप्त हुनेछ। यसले हात्तीको नियमित अनुगमन गर्न सहज हुनुका साथै मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा ठूलो सहयोग पुग्ने अपेक्षा राखिएको उनले बताए ।






