काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाएका छन् । यो नयाँ ट्यारिफ पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको छ ।
ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार यो थप ट्यारिफ आदेश जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ ।
बुधबार जारी गरिएको ह्वाइट हाउसको आदेशमा भारत सरकारले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसबाट तेल आयात गरिरहेको छ । यही आधारमा अमेरिकाले भारतबाट आउने सबै वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउने निर्णय गरेको हो ।
रुस युक्रेन युद्ध सुरु भएपछि भारतले रुसबाट आयात गर्ने कच्चा तेलको परिमाण ह्वात्तै बढेको थियो । सन् २०१८ सम्म रुसबाट भारत आयात हुने कच्चा तेलको हिस्सा १.८ प्रतिशत मात्र थियो तर सन् २०२५ मा यो परिमाण ३५ प्रतिशत पुगेको थियो ।
नयाँ ट्यारिफ लगाउने अमेरिकाको यो निर्णयले अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्ने विशेषज्ञ बताउँछन् । विज्ञहरुकाका अनुसार भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट पनि आउन सक्छ ।








