वासिङ्टन । उत्तर कोरियाली नेता किम जोङ-उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको सबैभन्दा ठूलो सैन्य परेडमा सहभागिता जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिकाविरुद्ध ‘षड्यन्त्र’ गरेको आरोप लगाएका छन् ।
ट्रुथ सोसलमा गरिएको एक पोस्टमार्फत ट्रम्पले दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पणको ८०औँ वार्षिकोत्सव मनाउन आयोजित परेडमा सीको उपस्थिति र सहभागितालाई अमेरिकाविरुद्धको ‘षड्यन्त्र’ का रुपमा चित्रित गरे ।
चीनले सन् १९४५ मा जापानलाई हराउँदै प्राप्त विजयलाई सम्झना गर्न सेप्टेम्बर ३ लाई विशेष वार्षिकोत्सवको रूपमा मनाउँदै आएको छ । ‘राष्ट्रपति सी र चीनका अदभूत जनताले भव्य र चिरस्थायी उत्सव मनाउन् । कृपया भ्लादिमिर पुटिन र किम जोङ-उनलाई मेरो न्यानो अभिवादन दिनुहोस्, किनकि तपाईंहरूले अमेरिकाविरुद्ध षड्यन्त्र गर्नुभयो,’ परेड चलिरहेको बेला ट्रम्पले भनेका छन्, ‘उत्तर दिनुपर्ने ठूलो प्रश्न के हो भने चीनका राष्ट्रपति सीले संयुक्त राज्य अमेरिकाले चीनलाई धेरै मित्रहीन विदेशी आक्रमणकारीबाट आफ्नो स्वतन्त्रता सुरक्षित गर्न मद्दत गर्न ठूलो मात्रामा समर्थन र आफ्नै रगतसमेत दिएको थियो ? चीनको विजय र गौरवको यात्रामा धेरै अमेरिकीहरूले ज्यान दिएका थिए । म आशा गर्दछु उनीहरूको बहादुरी र बलिदानलाई उचित सम्मान र सम्झना गरिन्छ ।’
चीनले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव अवसरमा विशाल सैन्य परेड आयोजना गरेको हो । यस अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उन बेइजिङमा चीनको सैन्य शक्ति प्रदर्शन अवलोकन गर्न उपस्थित थिए ।
परेडका क्रममा चीनले आफ्नो एचक्यु–९सी मिसाइल प्रणाली प्रदर्शन गर्यो । पाकिस्तानले आफ्ना सुरक्षा आवश्यकताका लागि यसै मिसाइल प्रणालीको संस्करण प्राप्त गरेको थियो । पाकिस्तानी मिडियाका अनुसार यस प्रणालीले ‘अपरेसन सिन्दूर’ मा प्रयोग भएको देखिए पनि भारतीय मिसाइल आक्रमण रोक्न भने असफल भएको थियो ।
परेडमा चिनियाँ राष्ट्रपति सीले देशलाई ‘अजेय’ भन्दै शान्तिपूर्ण विकासप्रतिको आफ्नो दृढता दोहोर्याउनुभयो । ‘चीन शान्तिपूर्ण विकासको बाटोमा अडिग रहनेछ । चिनियाँ राष्ट्रको कायाकल्प रोक्न सकिँदैन र मानवताको शान्ति तथा विकासको लक्ष्य प्रबल हुनेछ’, उनले भने ।









