काठमाडौं । सरकारले निजामती कर्मचारीका ट्रेड युनियनलाई सरकारी जग्गामा निर्माण गरिएका कार्यालय भवन तथा अन्य भौतिक संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सरकारी स्वामित्वको जग्गामा रहेका ट्रेड युनियनका कार्यालय तथा संरचना खाली गरी सम्बन्धित सम्पत्ति मन्त्रालयलाई बुझाउन निर्देशन दिएका हुन्।
मन्त्रालयका अनुसार तोकिएको समयभित्र आवश्यक कागजात, सम्पत्तिको जिम्मेवारी तथा भवनको साँचो आन्तरिक व्यवस्थापन महाशाखामा नबुझाए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।
शाखा अधिकृत विवेक विडारीद्वारा हस्ताक्षरित सूचनामा सरकारी सम्पत्तिको संरक्षण तथा कानुनी व्यवस्था कार्यान्वयनका लागि यो निर्णय गरिएको उल्लेख छ। सरकारी स्वामित्वको जग्गा भोगचलन गरी बनाइएका भवन, संरचना तथा बहालमा दिइएका स्थानहरू खाली गरी मन्त्रालयलाई जिम्मा लगाउन पनि निर्देशन दिइएको छ।
सूचनाअनुसार नेपाल निजामती कर्मचारी युनियन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ र मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल गरी आठ वटा ट्रेड युनियनलाई आफ्ना कार्यालय खाली गर्न भनिएको छ।
यसअघि सरकारले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेशमार्फत ट्रेड युनियनसम्बन्धी कानुनी प्रावधान हटाउने व्यवस्था गरेको थियो। त्यसको निरन्तरतास्वरूप सरकारी जग्गामा रहेका ट्रेड युनियनका कार्यालय तथा संरचना हटाउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।












