काठमाडौँ । नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’का लागि ४२ प्रतियोगी छानिएका छन् । प्रतियोगिताको छनोट चरणको विभिन्न अडिसनबाट २६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् ।
प्रतियोगीताको यो १०औं सिजन हो । यो सिजनको मुख्य प्रयोगक नोथिङ स्मार्ट फोन रहेकोले प्रतियोगिता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
छानिएका प्रतियोगीहरु एक महिनाको प्रशिक्षणसहित फाइनलको तयारीमा लाग्नेछन् । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्यांग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ । प्रतियोगितामा विजेताले पाँच लाख बराबरको पुरस्कारको अलवा आगामी सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत १० वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो छ ।
प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने अध्यक्ष धमलाको विश्वास छ । प्रतियोगिताको फाइनल २४ जुलाई अर्थात् साउन ८ गते आयोजना हुनेछ ।







