बुटवल । गुल्मीमा जंगली जनावरबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जंगली बँदेलबाट बाली जोगाउन बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी विद्युतीय पासो थापेका थिए।

ADVERTISEMENT

सोही करेन्टमा परी उनकी ६० वर्षीया श्रीमती हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएकोमा बुधबार बिहान ३ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनापछि करेन्ट प्रवाह गर्ने भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्कालगायत कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

ADVERTISEMENT

पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा बँदेल, बाँदर र नीलगाईजस्ता जंगली जनावरले बालीमा क्षति पुर्‍याएपछि केही किसानले विद्युतीय तार तथा अन्य जोखिमपूर्ण पासो प्रयोग गर्ने गरेका छन्। प्रहरीले यस्ता जोखिमपूर्ण उपाय प्रयोग नगर्न तथा सुरक्षित र वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ।