दमौली। तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको आरोपमा पक्राउ परेका ४६ वर्षीय कुमार नेपालीलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला अदालत तनहुँले बिहीबार उनीविरुद्ध सात दिनको म्याद थप गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार, पक्राउ परेका कुमार नेपालीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीले उनको साथबाट चक्कु, चप्पल, सल र प्रयोग गरिएका कपडा बरामद गरेको छ।

ADVERTISEMENT

गत पुस २६ गते बिहान सेती नदीस्थित कसेरीघाटमा तीन जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो। मृतकहरूमा शुक्लागण्डकी–११ का ३९ वर्षीय नारायण विक, भिमाद नगरपालिका–८ की ५८ वर्षीया देउमाया थापा र नाम, थर र वतन नखुलेका ५५ वर्षीय पुरुष रहेका थिए।

घटनाको गहिरो अनुसन्धानका लागि तालिमप्राप्त कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विज्ञसहित टोली परिचालन गरिएको थियो। नाम र वतन नखुलेको पुरुषको शवको सनाखतका लागि हुलिया परिपत्र गरी शवगृहमा सुरक्षित राखिएको छ।

ADVERTISEMENT

प्रहरीले घटनाका सबै पक्षको छानबिन गरिरहेको र दोषीलाई कानूनी कारबाहीमा ल्याउने प्रयास भइरहेको जनाएको छ।