काठमाडौं । क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै क्यानडा अन्तिम–१६ मा प्रवेश गरेको हो ।
क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । खेलको ९० मिनेटसम्म कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफेनले गोल गर्दै क्यानडालाई पहिलोपटक प्रिक्वार्टरफाइलनमा पुर्याएका हुन् ।
निर्णायक गोल गर्ने स्टेफेन नै प्लेयर अफ द म्याच घोषित भए । तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा यसअघि दुईपटक नै समूह चरणबाट बाहिरिएको थियो ।
क्यानडासँग पराजित भएसँगै पहिलोपटक दक्षिण अफ्रिकाले प्रिक्वार्टरफाइनल पुग्ने अवसर गुमाएको छ । क्यानडा समूह ‘‘बी’ दोस्रो भएर नकआउट चरणमा पुग्दा दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्र्द नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा क्यानडाले अब मोरक्को र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।





