काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । दुवै टोली यसअघि नै अन्तिम ३२ मा प्रवेश गरिसकेका थिए ।
मियामी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । इन्जुरी समयमा कोलम्बियाका डाभिसन सान्चेजले जुआन फर्नान्डो क्विन्टेरोको क्रसलाई हेडमार्फत जाली चुमाए पनि भीएआर जाँचपछि गोल अफसाइडका कारण रद्द गरिएको थियो। त्यसपछि खेल बराबरीमै समाप्त भयो ।
पोर्चुगलले आज अपेक्षित खेल खेल्न सकेन । कोलम्बियाले पोर्चुगललाई निकै दबाबमा राखेको थियो । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो खासै चलेनन् । उनलाई अन्य खेलाडीले आज पास नै दिएनन् । कोलम्बियाले नकआउटमा घानाको सामना गर्नेछ ।




