काठमाडौँ । नेपाल टेलिकमले मासिक रूपमा स्वतः नवीकरण हुने नयाँ प्रिपेड प्याकेज सञ्चालनमा ल्याएको छ। यो व्यवस्थाअन्तर्गत ग्राहकले एकपटक प्याकेज सक्रिय गरेपछि प्रत्येक महिना पुनः सक्रिय गरिरहनुपर्ने झन्झट हट्नेछ। मोबाइल ब्यालेन्समा पर्याप्त रकम भएमा प्याकेज स्वतः नवीकरण हुनेछ।
कम्पनीले ३० दिनका लागि तीन प्रकारका प्याकेज उपलब्ध गराएको छ। ‘नमस्ते रिकरिङ २९९’ प्याकमा ३०० मिनेट सबै नेटवर्कमा कल, ४ जीबी डाटा, राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जीबी नाइट डाटा तथा कम्पनीको नेटवर्कभित्र प्रयोग गर्न मिल्ने २० वटा एसएमएस समावेश गरिएको छ।
त्यसैगरी नमस्ते रिकरिङ ४९९ प्याकमा ५०० मिनेट सबै नेटवर्कमा कल, ८ जीबी डाटा, ४ जीबी नाइट डाटा र सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस उपलब्ध हुनेछन्।
उच्च प्रयोगकर्तालाई लक्षित नमस्ते रिकरिङ ७९९ प्याकमा सबै नेटवर्कमा असीमित भ्वाइस कल, प्रतिदिन १० जीबीका दरले मासिक ३०० जीबी डाटा तथा ३०० वटा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एसएमएस सुविधा प्रदान गरिएको छ।
नेपाल टेलिकमले यी प्याकेजका ग्राहकका लागि आवश्यकताअनुसार एड–अन डाटा प्याक पनि उपलब्ध गराएको छ। एड–अन प्याकअन्तर्गत ३० रुपैयाँमा एक दिनका लागि एक जीबी, ५० रुपैयाँमा तीन दिनका लागि दुई जीबी र ९९ रुपैयाँमा सात दिनका लागि ४ जीबी डाटा प्राप्त गर्न सकिनेछ।
ग्राहकले *1415# डायल गरी प्राप्त निर्देशनअनुसार यी सब्स्क्रिप्सनमा आधारित प्याकेज खरिद गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ।






