काठमाडौं । नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा सोमबारदेखि फोरजी सेवाको शुभारम्भ गरेको छ ।

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि लोकप्रिय गन्तव्य हो । रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थलबाट राराताल, विभिन्न हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मनोरम प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ ।

ADVERTISEMENT

मुर्माटपमा फोरजी सेवा विस्तार भएसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट सेवाको सहज उपयोग गर्न सक्नेछन् । यस सेवाले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ रुटमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउनेछ । अब पर्यटकहरूले आफ्नो यात्रा अनुभव, तस्बिर, भिडियो तथा लाइभ अपडेटहरू सहज रूपमा सामाजिक सञ्जालमार्फत आदानप्रदान गर्न सक्नेछन् ।

ADVERTISEMENT

उक्त क्षेत्रमा आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएसँगै रारा क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ । साथै, स्थानीय होटल, होमस्टे, व्यवसायी तथा सेवाग्राहीहरूले विभिन्न डिजिटल सेवाको उपयोग अझ सहज रूपमा गर्न सक्नेछन्, जसले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फोरजी सेवा सञ्चालनका लागि जडान गरिएको उक्त टावरले मुर्माटप क्षेत्रमा मात्र सेवा उपलब्ध गराउने नभई हुम्ला, बाजुरालगायतका दुर्गम हिमाली क्षेत्रहरूमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशनको रूपमा समेत कार्य गर्नेछ । यसबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमका मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने विश्वास गरिएको छ ।

नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’को आफ्नो दायित्वलाई आत्मसात् गर्दै देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

आगामी दिनमा पनि सेवाको पहुँच, गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्दै डिजिटल नेपालको परिकल्पनालाई साकार बनाउन कम्पनी प्रतिबद्ध रहनेछ । २०७६ मंसिर १९ देखि नेपाल टेलिकमले रारा ताल क्षेत्रमा फोरजी सेवा पूर्ण क्षमतामा सञ्चालन गरेको थियो ।