काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अन्तिम क्रमभंग हेर्न आग्रह गरेका छन् । विराटनगरमा शुक्रवार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले भने, ‘प्रचण्डको अन्तिम क्रमभंग हेर्नुस्, अब कस्तो हुन्छ।’
प्रचण्डले कस्तो अन्तिम क्रमभंग हो भन्ने चाहिँ खुलाएनन् । उनले एमालेसँग तत्काल सडकदेखि सदनसम्म सहकार्य सुरु हुने गरेकाले पार्टी एकता नै क्रमभंग हो कि भन्ने धेरैको अनुमान छ ।
प्रचण्डले वामपन्थी एकतामा जोड दिँदै आएका छन्। उनले विराटनगरमा वामपन्थी मात्र नभई लोकतान्त्रिक शक्तिसँग पनि सहकार्य गर्ने बताए। उनले यसका लागि जसपा नेपालसँग छलफल भइरहेको खुलाए। तर पार्टी एकताको छलफल हो या सहकार्यको भन्नेबारे खुलाएनन्।
प्रचण्डले शुक्रबार बिहान मात्रै कांग्रेस नेता शेखर कोइरालालाई उनकै निवासमा भेटेका थिए । केही दिनअघि बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले नेकपासँग एकता वा सहकार्य हुन सक्ने बताएका थिए । ओलीले पार्टी बैठकमै यस्तो धारणा राखेपछि प्रचण्ड हौसिएका छन् ।
प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीको एकताको महाअधिवेशनबाट अर्को क्रमभंगता हुने दाबी गरे। उनले आफूहरूलाई सधैं नेतृत्वमा टाँसिएको आरोप लागिरहेको भन्दै आफूहरू नेतृत्वमा टाँसिइनरहने स्पष्ट पारे। पार्टीमा सशक्त नयाँ नेतृत्व स्थापित गरेर युवा पुस्तालाई पार्टी जिम्मा लगाउनेगरी पार्टी नेतृत्वले रणनीति तयार पारिरहेको उनले दाबी गरे। ‘फेरि पनि देशको नेतृत्व गर्ने हामीले नै हो, तपाईहरू निश्चिन्त हुनुहोस्,’ उनले भने ।





