काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई इतिहासले अवसर दिएको र यस्तो समय फेरिफेरि नआउने बताएका छन् ।
चितवनमा रास्वपाको प्रथम महाधिवेशन उदघाटन समारोहमा शुभकामना व्यक्त गर्दै लिङदेनले झण्डै दुई तिहाइ जनमत पाएको रास्वपालाई देशको सम्मुनत विकास गर्ने अवसर जुरेको र यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताए ।
लिङदेनले यस्तो अवसर फेरि कहिले नआउने बताउँदै देश बनाउने यो अवसर गुमे रास्वपाको नेतृत्वलाई मात्र नभई सिंगो देशलाई नै घाटा हुने बताए ।

यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको ऐतिहासिक जिम्मेवारी रास्वपाको काँधमा आएको बताए। चितवनमा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यादवले यस्तो बताए।
यादवले संघीयता, गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण विषय समावेश भए पनि संविधान त्रुटिपूर्ण, अधुरो र अपुरो तथा विरोधाभाषयुक्त रहेको बताए।
‘संविधानमा रहेका विकृति र विसंगतिलाई हटाएर संशोधन गर्नुपर्ने महत्वपूर्ण ऐतिहासिक जिम्मेवारी पनि यहाँहरुमाथि आइपर्यो,’ उनले भने। आफू र आफ्नो व्यक्तिगत तर्फबाट रास्वपालाई सहयोग र सदासयता रहिरहने बताउँदै उनले सहकार्यका लागि तयार रहेको बताए।






