काठमाडौं । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासहित हङकङमा देखिएका छन् । उपचारका लागि फागुन २१ को निर्वाचनअघि सिंगापुर उडेका देउवा दम्पती फेरि एकपटक हङकङमा देखिएका हुन् । यसअघि देउवा दम्पती दिउँसोको समयमा सडकमा देखिएका थिए ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणासँगै देउवा हङकङको सडकपेटीमा हिँड्दै गरेको भिडियो केशर थापाले सामाजिक सञ्जालमा हालेका छन् । यो भिडियो कहिले खिचिएको थियो भन्नेबारे केही खुलाइएको भने छैन ।

ADVERTISEMENT

गत भदौ २४ गते जेनजी विध्वंशको क्रममा देउवाको बूढानीलकण्ठस्थित निजी निवास जलाइएको थियो । उनीहरु दुबैमाथि सांघातिक आक्रमण भएको थियो । केही समय नेपालमै उपचार गराएर उनीहरु थप उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए । कांग्रेसमा किललो बढ्दै जाँदा बीचमा देउवा दम्पती स्वदेश फर्केका थिए । देउवा कांग्रेस केन्द्रीय समिति बैठकमा समेत उपस्थित भएर छोटो मन्तव्य राखेका थिए ।

कांग्रेसमा विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वको नयाँ कार्यसमिति चुनिएको र त्यसैलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि मान्यता दिएपछि फागुन २१ गतेको निर्वाचनभन्दा एक महिनाअघि देउवा पुनः सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङ पुगेको बताइए पनि आधिकारिक फोटो वा भिडियो देखिएको थिएन । स्रोतका अनुसार कांग्रेस नेता शशांक कोइरालाले देउवालाई हङकङ पुगेर भेटेका थिए । तर त्यसबारे कुनै कुरा खुलाइएको छैन ।

ADVERTISEMENT

आफूहरूविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेपछि देउवा दम्पत्तीले आगामी साउन २८ गतेसम्म स्वदेश फर्किने इमेल पठाएका थिए । इपासपोर्ट खरिद प्रकरणमा अख्तियारले आरजुलाई पनि दोषी ठहर गर्दै अनुसन्धानका लागि बयान दिन तीन दिनभित्र उपस्थित हुन पत्र पठाएको थियो । तर आरजुले तत्काल बयान दिन आउन नसक्ने जवाफ फर्काएकी छन् ।