काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तनहुँस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृह निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले आयोजनाको विद्युत् उत्पादन प्रणाली, उपकरण, संरचना तथा सञ्चालन अवस्थाबारे प्राविधिक कर्मचारीसँग जानकारी लिएका थिए।

आयोजनाका निमित्त प्रमुख शेरमहम्मद हुसैनले मन्त्री श्रेष्ठलाई आयोजनाको वर्तमान सञ्चालन अवस्था, उत्पादन क्षमता तथा प्राविधिक पक्षबारे जानकारी गराएका थिए।
निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षामा जलविद्युत् आयोजनाहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उत्पादन क्षमता वृद्धि, मर्मत–सम्भार र पूर्वाधार सुदृढीकरणमा विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन्।
मस्र्याङ्दी जलविद्युत् आयोजना नेपालको प्रारम्भिक ठूला जलविद्युत् आयोजनामध्ये एक हो। लमजुङ र तनहुँ जिल्लाको सिमानामा बग्ने मस्र्याङ्दी नदीमा निर्माण गरिएको यो आयोजना सन् १९८९ मा सञ्चालनमा आएको थियो। ६९ मेगावाट जडित क्षमता रहेको यस आयोजना नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सञ्चालनमा छ।
देशको विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको यो आयोजना लामो समयदेखि सञ्चालनमा रहेकाले समय–समयमा मर्मत तथा उपकरण आधुनिकीकरणको आवश्यकता औँल्याइँदै आएको छ। मस्र्याङ्दी आयोजना मध्यपहाडी क्षेत्रको विद्युत् आपूर्तिको प्रमुख स्रोतका रूपमा समेत रहँदै आएको छ।






