काठमाडौँ। विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव रहेकामा अब केही दिनभित्रै सहज उपलब्ध हुने भएको छ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि हाल सीमित स्थानमा मात्र उपलब्ध गराइँदै आएको भए पनि अब देशभर सहज रूपमा उपलब्ध गराइनेछ।

ADVERTISEMENT

उनका अनुसार औषधिको अभावका कारण बिरामीलाई सहजता प्रदान गर्न केही अस्पताल र फार्मेसी तोकेर वितरण गरिएको थियो। सरकारले औषधिको मूल्य समायोजन गर्ने प्रतिबद्धता जनाएकाले आयात प्रक्रिया सहज भई उपलब्धता बढ्ने अपेक्षा गरिएको छ।

विगत दुई महिनादेखि किमोथेरापीमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ लगायतका औषधिको अभाव देखिएको थियो। विभागले यी औषधि प्राप्त गर्न नेपालगञ्ज, विर्तामोड, विराटनगर, पोखरा, धरान, भरतपुर र काठमाडौँका विभिन्न अस्पताल तथा फार्मेसीसँग सम्पर्क गर्न आग्रह गरेको छ।

ADVERTISEMENT

किमोथेरापी उपचारका लागि सबैभन्दा बढी ‘कार्बोप्लाटिन’ र त्यसपछि ‘सिस्प्लाटिन’ आवश्यक पर्ने गर्छ। विभागका अनुसार हाल नेपालमा दुई हजार भाइल ‘कार्बोप्लाटिन’ र ५० भाइल ‘सिस्प्लाटिन’ मौज्दात छ।

नेपालमा मासिक रूपमा एक हजार भाइल ‘कार्बोप्लाटिन’ र ६०० भाइल ‘सिस्प्लाटिन’ आवश्यक पर्ने अनुमान छ। नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यका अनुसार बिरामीको उपचार प्रभावित हुन नदिन महँगो मूल्यमा भए पनि औषधि आयात गरेर उपलब्ध गराइँदै आएको छ।

उनले एक महिनालाई पुग्ने ‘सिस्प्लाटिन’ भारतबाट नेपाल आउने क्रममा रहेको जानकारी दिए। सरकारबाट मूल्य समायोजन भएपछि औषधिको अभाव हट्ने उनको भनाइ छ।

भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थामा किमोथेरापी उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको थियो।