काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

डा. भट्ट बैंकिङ नियमन, वित्तीय व्यवस्थापन तथा सुपरिवेक्षण क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका विज्ञका रूपमा परिचित छन्। नेपाल राष्ट्र बैंकमा लामो समय कार्यरत रहँदा उनले बैंक सुपरिवेक्षण विभाग, वित्त कम्पनी सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, वित्तीय व्यवस्थापन विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग तथा मानव संसाधन व्यवस्थापन विभागको नेतृत्व सम्हालिसकेका छन्।

ADVERTISEMENT

उनी राष्ट्र बैंकका अनुभवी नियामक मात्र नभई पुँजी बजारसम्बन्धी अनुसन्धानकर्ता पनि हुन्। उनले ‘नेपालमा धितोपत्र बजारको प्रभावकारिता’ विषयमा विद्यावारिधि गरेका छन्। साथै, शेयर बजार र आर्थिक वृद्धिबीचको सम्बन्धबारे गरिएको उनको अनुसन्धान सेबोनको जर्नलमा प्रकाशित भइसकेको छ।

उनको अध्ययनले नेपालको पुँजी बजार आर्थिक वृद्धिसँग सम्बन्धित भए पनि संरचनागत कमजोरी र संस्थागत चुनौतीले अझै प्रभावकारी बन्न नसकेको निष्कर्ष निकालेको थियो।

ADVERTISEMENT

डा. भट्टले पुँजी बजारको दीर्घकालीन सुधार, लगानीकर्ता संरक्षण तथा वास्तविक क्षेत्रका कम्पनीहरूको सहभागिता वृद्धि गर्नुपर्ने धारणा राख्दै आएका छन्। हाल उनी विभिन्न विश्वविद्यालय तथा कलेजहरूमा लगानी व्यवस्थापन, सुरक्षा विश्लेषण, पोर्टफोलियो व्यवस्थापन, वित्तीय डेरिभेटिभ्स, मर्जर तथा एक्विजिसन र कर्पोरेट पुनर्संरचनाजस्ता विषय अध्यापन गरिरहेका छन्।

उनको नियुक्तिसँगै लामो समयदेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डले नयाँ गति लिने अपेक्षा गरिएको छ।