काठमाडौं । एनसेल र ट्राभल प्लेटफर्म ट्रिप टर्बोबीच रणनीतिक साझेदारी भएको छ। यस सहकार्यसँगै एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत बस टिकट, आन्तरिक हवाई टिकट तथा विभिन्न साहसिक गतिविधिहरूमा आकर्षक छुट र विशेष सुविधा प्राप्त गर्न सक्ने भएका छन्।
साझेदारीअन्तर्गत रु ९९ वा सोभन्दा बढी मूल्यका प्याक खरिद गर्ने एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत सेवा उपयोग गर्दा विभिन्न छुट सुविधा प्राप्त गर्नेछन्। ग्राहकहरूले मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरूमा अधिकतम रु ८,००० सम्म छुट पाउन सक्नेछन्।

त्यसैगरी, पहिलो पटक आन्तरिक हवाई टिकट बुकिङ गर्दा रु २०० छुट र त्यसपछिका प्रत्येक उडानमा रु १४० छुट उपलब्ध हुनेछ। बस टिकट बुकिङमा पनि ग्राहकहरूले रु १११ छुट प्राप्त गर्न सक्नेछन्।
यी सुविधाहरू एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ‘ट्रिप टर्बो’ सेक्सनमार्फत सहज रूपमा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ। यसले ग्राहकहरूलाई यात्रा तथा साहसिक गतिविधिहरूको योजना बनाउँदा छुट खोज्न र प्रयोग गर्न थप सहज बनाउने विश्वास गरिएको छ।
एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ग्राहकहरूलाई कनेक्टिभिटीसँगै यात्रा र जीवनशैलीसँग सम्बन्धित अतिरिक्त लाभ उपलब्ध गराउने उद्देश्यले यो सहकार्य गरिएको बताए। उनका अनुसार यसले ग्राहकहरूको यात्रा अनुभवलाई अझ किफायती, सहज र लाभदायी बनाउनेछ।
ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट, बस टिकट, होटल बुकिङ, होलिडे प्याकेज तथा ग्राहकको आवश्यकता अनुसारका ट्राभल सेवा प्रदान गर्दै आएको छ। एनसेलले डिजिटल लाइफस्टाइल पार्टनरको रूपमा आफ्ना ग्राहकहरूलाई थप मूल्य प्रदान गर्ने रणनीतिअनुसार यो सहकार्य अघि बढाएको जनाएको छ।






