काठमाडौं । एक वर्षको अवधिमा रोजगारी गदै आठ लाख ३९ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन । स्वदेशमा रोजगारीका अवसर नहुुँदा रोजगारी खोज्दै नेपाली विदेश पलायन भएका हुुन ।
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकले आर्थिक वर्ष २०८१÷८२ मा मात्रै ८ लाख ३९ हजार २ सय ६६ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । तीमध्ये दक्ष, अर्धदक्ष र अदक्ष सबै तहका श्रमिक समावेश छन् ।
एक वर्षमा सीप नभएका नेपालीहरूको संख्या उच्च छ । एक वर्षमै २ लाख ७ हजारभन्दा बढी नेपाली श्रमिक सीप नसिकीकनै विदेशिएका छन् । तीमध्ये २ लाख २ हजार पुरुष र २४ हजारभन्दा बढी महिला छन् ।
सरकारले वर्षौंदेखि वैदेशिक रोजगारमा जानेहरूलाई सीपमूलक तालिम दिएर पठाउने नीति लिए पनि व्यवहारमा भने अदक्ष जनशक्ति नै धेरै विदेशिएको तथ्यांकले देखाएको छ ।
त्यसैगरी, सीप सिकेर विदेशिनेको संख्या पनि कम छैन । एक वर्षको अवधिमा ५ लाख ६ हजारभन्दा बढी नेपाली तालिम लिएर विदेशिएका छन् । तीमध्ये ४ लाख ४७ हजारभन्दा बढी पुरुष र ५९ हजार ७ सय ५४ महिला छन् ।
यस्तै, अर्धदक्ष श्रमिकको संख्या ९९ हजार ७ सय २३ पुगेको छ भने व्यावसायिक तहका ४ हजार ३ सय ७२ जना विदेशिएका छन् । दक्ष जनशक्तिको संख्या भने ९ सय ३७ मात्रै रहेको छ, जसमा पुरुषको संख्या ६ सय ९२ र महिलाको संख्या २४५ रहेको छ ।
गत वर्ष वैधानिक माध्यमबाट नेपाली श्रमिक १५१ वटा मुलुकमा गएका छन् । यूएई, साउदी अरब, कतार, कुवेत र मलेसियामा सबैभन्दा धेरै श्रमिक गएका छन् भने १२ देशमा एक–एक जना मात्रै गएका छन् ।
वैदेशिक रोजगार विभागसँग विदेशिनेहरूको विवरण भए पनि कति नेपाली फर्किए, कति उतै स्थायी रूपमा बसे भन्ने यकिन तथ्यांक भने छैन । खाडी मुलुकहरू मात्र होइन, पछिल्लो समय युरोपेली मुलुकहरूमा समेत नेपाली कामदारको आकर्षण बढेको विभागको तथ्यांकले देखाएको छ ।
दशकौँदेखि ‘श्रम निर्यातलाई आर्थिक समाधानको विकल्पजस्तै बनाइएको नेपालले अहिले आएर ठूलो जनशक्ति गुमाइरहेको छ । सीपविहीन श्रमिकको बढ्दो संख्या र देशभित्र अवसरको न्यूनताले अबको भविष्य अझै गम्भीर प्रश्नचिह्नमा पुर्याएको देखिन्छ । सरकारले देखाएको तालिम र सीप विकासको सपना अहिलेसम्म कागजी मात्रै भएको पुष्टि तथ्यांकले नै गरिरहेको छ।







