काठमाडौं । जेनजी प्रदर्शनकारीले वैदेशिक रोजगार विभाग समेत ध्वस्त पारेका छन् ।
मंगलबार प्रदर्शनकारीले ताहाचलमा रहेको विभागमा तोडफोड तथा आगजनी गरेका हुन् । जसका कारण विभागको तल्लो भवन पूर्णरूपमा क्षति पुगेको विभागका महानिर्देशक कमल भट्टराईले जानकारी दिए ।
आगजानी र तोडफोडका कारण विभागमा पूर्णरूपमा क्षति पुगेको र अहिले आंशिक रूपमा सेवा प्रवाह भइरहेको उनले बताए । आगजनीबाट प्रशासन शाखा, मुद्दा शाखा तथा महानिर्देशक कार्यकक्ष पूर्णरूपमा ध्वस्त भएको छ ।
विभागभन्दा माथि रहेको वैदेशिक रोजगार कार्यालयमा भने केही भएको छैन । जसले गर्दा श्रम स्वीकृतिको सेवा प्रवाहमा कुनै समस्या नआएको भट्टराईले बताए ।
माथिल्लो भवनमा श्रम स्वीकृतिको कार्य हुन्छ । त्यहाँ पनि क्षति पुगेको भए श्रम स्वीकृतिको कार्य समेत बन्द हुन्थ्यो,’ भट्टराईले भने, ‘अहिले साथीहरूले घरबाटै श्रम स्वीकृतिको काम गरिरहेका छन् । श्रम स्वीकृतिका लागि अलि–अलि आइरहेका छन् । त्यो घरबाटै भइरहेको छ ।’







