काठमाडौं । अमेरिका र इरानबीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता समारोह अन्तिम समयमा स्थगित भएको छ। स्वीट्जरल्यान्डमा शुक्रबार आयोजना हुने तय भएको उक्त समारोहमा कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी सहभागी नहुने भएपछि कार्यक्रम स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कूटनीतिक स्रोतका अनुसार अब प्रक्रिया औपचारिक हस्ताक्षरभन्दा प्राविधिक तहका विस्तृत वार्तातर्फ केन्द्रित हुने भएको छ। अमेरिका, इरान, कतार र पाकिस्तानका अग्रिम टोलीहरू हाल स्वीट्जरल्यान्डका विभिन्न स्थानमा रहेर वार्ताको नयाँ ढाँचा व्यवस्थापनमा जुटेका छन्।
स्रोतहरूका अनुसार सम्झौताका बाँकी जटिल तथा प्राविधिक विषयमा सहमति जुटाउन आगामी ६० दिनसम्म विभिन्न चरणमा प्राविधिक वार्ता सञ्चालन गरिनेछ। ती वार्तामार्फत सम्झौताका बाँकी विषयहरू टुंग्याउने प्रयास गरिने बताइएको छ।
समारोह स्थगित भएपछि पाकिस्तानको कूटनीतिक कार्यक्रमसमेत प्रभावित भएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले आफ्नो स्वीट्जरल्यान्ड भ्रमण रद्द गरेका छन्। मुख्य समझदारीपत्र (एमओयू) सम्बन्धी एजेन्डा सम्पन्न भइसकेकाले भ्रमण आवश्यक नरहेको निष्कर्ष निकालिएको जनाइएको छ।






