काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग भएका छन् । महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै साधारण सदस्य मात्र रहने जानकारी गराएका छन् ।

आफूलाई लागेको एट्रोफी नामक रोगका कारण पार्टीमा योगदान गर्न कठिन हुँदै गएको जानकारी गराउँदै उनले सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका हुन् ।

ADVERTISEMENT

‘आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु’, महराले बिहीबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिणाम हो ।’

हरा नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हाल नेपाली कम्युनिष्ट पार्टीका नेता छन् । स्वास्थ्यमा देखिएको समस्याका कारण उनी पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा छन् । उनी पूर्वमन्त्री र पूर्वसभामुख पनि हुन् ।

ADVERTISEMENT

सभामुख कालमा एक महिलासँग सम्बन्ध जोडिएपछि उनी पक्राउ परेका थिए । साथै, उनको सभामुख पद पनि गएको थियो । माओवादी नेताहरूमध्ये सबैभन्दा धेरै राज्यसत्तामा हालीमुहाली गर्नेमा महराको नाम अगाडि आउँछ । उनी आधा दर्जनभन्दा बढी मन्त्री बनेका थिए । तर पछिल्लो समय उनी सुन तस्करी काण्डमा मुछिएका छन् । कुनै समय महरा पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र मानिन्थे ।