काठमाडौं । बुधबार दिउँसो सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाहले असार २३ गते आफ्नो ८०औं जन्मोत्सव मनाउन लागेको र त्यसका लागि निर्मल निवासमा समारोह आयोजना गर्न लागिएको सूचना सार्वजनिक भयो ।
जसका लागि असार २३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म निर्मल निवास खुल्ला रहने जनाइएको थियो । त्यति मात्र होइन, पूर्वराजा शाहले सबै शुभेच्छुक जनसमुदाय, संघसंस्था तथा आमनागरिकहरुबाट शुभकामना तथा अभिवादन ग्रहण गर्ने उल्लेख थियो । डा.फणिराज पाठकको नाममा संवाद सचिवालयका तर्फबाट सूचना भन्ने उल्लेख थियो ।
तर त्यसको केही समयलगत्तै फणिराज पाठकको नाममा अर्को सूचना जारी भयो । जसमा भनिएको छ, ‘श्री ५ महाराजाधिराजको शुभ जन्मोत्सवको सन्दर्भमा संवाद सचिवालयद्वारा जारी भएको विज्ञप्ति भन्दै सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाप्रती संवाद सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । साथै, संवाद सचिवालयबाट हाल कुनै पनि प्रकारको सूचना जारी नगरिएको तथ्य सबैमा सूचित गर्दछु ।’
केही मिनेटको फरकमा सामाजिक सञ्जालमा यस्तो सूचना आएपछि कसलाई आधिकारिक मान्ने भन्ने समस्या भएको छ । दुवै सूचनामा फणिराज पाठकको नाम र संवाद सचिवालय उल्लेख भएकाले राजावादी अन्योलमा परेका छन् ।
पछिल्लो समय प्रधानमन्त्रीदेखि मन्त्री र विभिन्न नेताका नाममा फेक सूचना र तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाउने गरिएको छ । जसकारण सर्वसाधारण जनता सत्य कुन हो र गलत कुन हो भन्नेमा बडो द्विविधामा परेका छन् ।







