काठमाडौं। विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा इरानले दुईपटक पछि परे पनि उत्कृष्ट पुनरागमन गर्दै न्युजिल्यान्डसँग २–२ को बराबरी खेलेको छ।
मंगलबार बिहान लस एन्जलस स्टेडियममा सम्पन्न खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका छन्। बराबरीसँगै इरान र न्युजिल्यान्ड समूह ‘जी’ को शीर्ष दुई स्थानमा पुगेका छन्।
खेलको सातौँ मिनेटमै एजिल जस्टले गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए। प्रारम्भिक दबाब कायम गरेको न्युजिल्यान्डविरुद्ध इरानले भने ३२औँ मिनेटमा जवाफ फर्कायो। रामिन रेजाइनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएपछि पहिलो हाफ सोही नतिजामा सकिएको थियो।
दोस्रो हाफमा पनि न्युजिल्यान्डले पुनः अग्रता बनायो। एजिल जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अवस्थामा पुर्याएका थिए।
तर इरानले हार मानेन। खेलको ६३औँ मिनेटमा मोहम्मद मोहेबीले आकर्षक हेडरमार्फत गोल गर्दै इरानलाई पुनः बराबरीमा फर्काए।
बाँकी समयमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल २–२ को बराबरीमा टुंगियो। इरानले खेलमा दुईपटक पछि परेर पनि अंक जोगाउन सफल भएको छ भने न्युजिल्यान्डले अग्रता जोगाउन नसक्दा तीन अंकबाट वञ्चित रह्यो।








