काठमाडौं। संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेको १५ दिनपछि प्रदेश सरकारहरूले पनि बजेट ल्याउन थालेका छन्। सात प्रदेशमध्ये हालसम्म पाँच प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन्।

पछिल्लो विवरणअनुसार मधेश, गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशले आफ्नो बजेट सार्वजनिक गरिसकेका छन्। कर्णाली प्रदेशमा बजेट प्रस्तुत गर्ने प्रक्रिया जारी रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलहरूबीच बजेटको भागबण्डा नमिल्दा बजेट सार्वजनिक हुन सकेको छैन।

ADVERTISEMENT

मधेश प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। गण्डकी प्रदेशले ३३ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको छ, जुन आर्थिक मामिला तथा योजनामन्त्री जीतबहादुर शेरचनले प्रदेशसभामा प्रस्तुत गरेका हुन्।

त्यस्तै, कोशी प्रदेशले ४० अर्ब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रस्तुत गरेको बजेटमा पूर्वाधार, कृषि, पर्यटन तथा लगानी प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ।

ADVERTISEMENT

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गरेको बजेटमा पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिइएको छ।

यस्तै, लुम्बिनी प्रदेश सरकारले ३७ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रस्तुत गरेको बजेटमा कर्मचारी तलब वृद्धि, कृषि, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिइएको छ।

हालसम्म बजेट सार्वजनिक गरेका यी पाँच प्रदेशको कुल बजेट रकम करिब २ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। प्रदेश सरकारले स्थानीय आवश्यकताअनुसार विकास, पूर्वाधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रवाह सुधारलाई केन्द्रमा राखेर बजेट निर्माण गरेका छन्।

अब कर्णाली र सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक भएपछि सबै प्रदेशको आगामी आर्थिक वर्षको वित्तीय खाका पूर्ण हुनेछ।

कुन प्रदेशमा बजेट कति?