काठमाडौं। नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएको भन्दै प्रतिनिधिसभामा बोल्न अस्वीकार गरेका छन्। मन्त्रीहरूको उपस्थितिको माग गर्दै उनी रोस्टममा मौन बसेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
सोमबार प्रतिनिधिसभामा नौ वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेका बेला राईले सम्बन्धित सबै मन्त्रीहरू सदनमा उपस्थित हुनुपर्ने माग गरेका हुन्। उनले विगतमा पनि अर्थमन्त्रीको अनुपस्थितिको विषय उठाएको स्मरण गराउँदै आफू मन्त्री खोज्न नभई संसदीय विधि र प्रक्रियाको पालना गराउन चाहेको बताए।
राईले संसद् विधिपूर्वक सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित मन्त्रालयको बजेटमाथि छलफल हुँदा सम्बन्धित मन्त्रीहरू उपस्थित हुनैपर्ने धारणा राखे।
“विधिपूर्वक संसद् चलाउने हो भने ९ जना मन्त्री यहाँ हुनुपर्छ। अनि म आफ्नो कुरा राख्छु। विधि नमान्ने हो भने मैले कसरी कुरा राख्ने ?” उनले रोस्टमबाट भने।
उनले पुराना राजनीतिक दलहरूले विधि र प्रक्रिया नमान्दा नै जनताले नयाँ विकल्प खोज्न थालेको टिप्पणी पनि गरे। “यहाँ दुई जना मन्त्री मात्रै हुनुहुन्छ, बाँकी सात जनालाई बोलाउनुस्, म दनादन आफ्नो कुरा राख्छु,” उनले दोहोर्याए।
सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आफ्नो धारणा राख्न आग्रह गरे पनि राई आफ्नो अडानबाट पछि हटेनन्। रोस्टममा लामो समय मौन बसेपछि सभामुखले उनको ध्यानाकर्षण भएको बताउँदै छलफल अगाडि बढाउन आग्रह गरेका थिए।
तर सांसद राईले संसदीय थिति र परम्परा कमजोर बनाउन नहुने भन्दै बोल्न अस्वीकार गरेपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
प्रतिनिधिसभामा युवा तथा रोजगार, उद्योग, कृषि, वन तथा वातावरण, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, भूमि व्यवस्था तथा महिला, बालबालिका र सामाजिक सुरक्षासहित नौ मन्त्रालयको बजेटमाथि छलफल भइरहेको थियो।








