काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन गरेका हुन्।
नाइमाले स्थापनाको वर्ष नै राम्रो शो आयोजना गरेको र यसले आटोमोबाइल क्षेत्रलाई योगदान गर्ने अर्थमन्त्री पौडेलले बताए। ‘सरकारले देशभरका सडक पूर्वाधारलाई चौडा र फराकिलो बनाउने कामलाई तीव्रता दिएर सवारीमैत्री पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । सरकारले कनेक्टिभिटीलाई अभियानकै रूपमा लिएको छ,’ उनले भने ।
पौडेलले सरकारले काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल बनाउन यो वर्षको बजेटमा प्राथमिक दिइएको र सम्बन्धित मन्त्रालय र निकायले काम थालिसकेको बताए।
सरकारले बजेटमा नीतिगत स्थिरता कायम गरेकोसमेत पौडेलले बताए। ‘सरकारले राजस्व पर्याप्त भएर नभइ नीतिगत स्थिरताका लागि अटोमोबाइलमा कर नबढाइएको हो,’ उनले भने, ‘व्यवसायीको मनोबल बढाउन सरकारले नीतिगत स्थिरता कायम राखेको हो।’ अर्थतन्त्रका सूचकहरूमा सुधार देखिएको र यो सुधारमा तीव्रता सरकारले चाहेको पौडेलको भनाइ छ।
भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स (नाइमा) ले आयोजना गरेको एक्स्पो पाँच दिनसम्म चल्नेछ। नाइमा स्थापना भएको पहिलो वर्ष नै आयोजना भएको मोबिलिटी एक्स्पोमा ५० ब्रान्ड सहभागी छन्। नाइमा मोबिलिटी एक्स्पोको यो संस्करणमा ३५ वटाभन्दा बढी नयाँ दुई तथा चारपांग्रे सवारी मोडल सार्वजनिक भएका छन्।









