काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट घोषणा गरेको दुई हप्ता पुगिसक्दा पनि शेयरबजारले भने रङ फेर्न सकेको छैन । बजेटप्रति आम लगानीकर्ताहरूको उच्च अपेक्षा रहेको र तीमध्ये केही अपेक्षा पूरा गर्ने प्रतिबद्धता बजेटमा घोषणा गरिएको भए पनि पुँजी बजारले सरकारलाई पत्याउन नसक्दा शेयरबजार लगातार ओरालो लाग्दै आएको छ । सोअनुसार शेयरबजार परिसूचक नेप्से यो साता पाँच कार्यदिन नै खुलेको भए पनि चार दिन लगातार ओरालो लागेपछि २७ सय २४ दशमलव ०३ बिन्दुमा खुम्चिन पुगेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४६७ दशमलव ०९ बिन्दुमा सीमित हुन पुगेको छ ।
यो साता धितोपत्र बजारमा ३५६ वटा कम्पनीहरूको शेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ८२ हजार ३९३ पटकको कारोबारमा चार करोड ९९ लाख ८९ हजार ७६१ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २३ अर्ब सात करोड २८ लाख ९० हजार ४६७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैयाँले कम हो ।
गत साता धितोपत्र बजारमा ३५३ वटा कम्पनीहरूको शेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ९४ हजार ४६२ पटकको कारोबारमा छ करोड १६ लाख ४० हजार ८८६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २६ अर्ब ९४ करोड ६७ लाख ६७ हजार १६१ रुपैयाँ पुगेको थियो । सातामा पाँच कार्यदिन नै खुला रहेको नेप्से यो साता तेस्रो दिन सामान्य अंकले उकालो लागेको भए पनि बाँकी दिनहरूमा लगातार ओरालो लागेको थियो ।
दैनिक शेयर कारोबारको विश्लेषण गर्दा यो साता पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २० दशमलव २७ अंकले ओरालो लागेर दुई हजार ७३५ दशमलव १४ बिन्दुमा खुम्चिएकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६२ अंकले ओरालो लागेर ४६९ दशमलव ३७ बिन्दुमा खुम्चिएको थियो ।
दोस्रो कारोबार दिन सोमबार पुनः नेप्से परिसूचक १ दशमलव ५४ अंकले ओरालो लागेर दुई हजार ७३३ दशमलव ५९ बिन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २९ अंकले ओरालो लागेर ४६९ दशमलव ०७ बिन्दुमा झरेको थियो ।
तेस्रो दिन मंगलबार भने नेप्से परिसूचक २ दशमलव ५७ अंकले उकालो लागेर दुई हजार ७३६ दशमलव १७ बिन्दुमा चढेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ३५ अंकले ओरालो लागेर ४६८ दशमलव ७२ बिन्दुमा खुम्चिएको थियो ।
चौथो दिन बुधबार नेप्से परिसूचक ८ दशमलव १४ अंकले ओरालो लागेर दुई हजार ७२८ दशमलव ०३ बिन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०९ अंकले ओरालो लागेर ४६७ दशमलव ६२ बिन्दुमा झरेको थियो ।
पाँचौँ दिन बिहीबार पनि नेप्से परिसूचक चार अंकले ओरालो लागेर दुई हजार ७२४ दशमलव ०३ बिन्दुमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५३ अंकले ओरालो लागेर ४६७ दशमलव ०९ बिन्दुमा झरेको थियो ।
यो साता आखुखोला जलविद्युत कम्पनी लिमिटेड, सेन्ट्रल फाइनान्स आदिको सबैभन्दा बढी रकम कारोबार भएको छ । शेयर कारोबार भएको सङ्ख्याको आधारमा पनि आखुखोला जलविद्युत कम्पनी, नेपाल पुनर्बीमा कम्पनी लगायतका कम्पनीहरू अगाडि देखिएका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।
दैनिक शेयर कारोबार तालिका
(श्रोत: नेपाल स्टक एक्सचेन्ज लिमिटेड)








