काठमाडौं । सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजार विस्तारलाई प्राथमिकतामा राख्दै दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन गर्ने विषयमा चासो देखाएको छ।
आज बसेको मन्त्रिपरिषद बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले डीडीसीका उत्पादनहरूको प्रवर्द्धन, बजार विस्तार तथा संस्थानको व्यावसायिक सुदृढीकरणका विषयमा विशेष एजेन्डा प्रस्तुत गरेकी थिइन् ।
बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, दुग्ध किसानको हित प्रवर्द्धन तथा डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न आवश्यक नीतिगत तथा व्यावहारिक सहयोगको आवश्यकता औंल्याइन् ।
उनले नेपाली किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र उत्पादित वस्तुको बजार सुनिश्चित गर्न सरकारी निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिइन्।
बैठककै क्रममा मन्त्री चौधरीले प्रधानमन्त्री वालेन्द्र शाह तथा मन्त्रिपरिषदका सदस्यहरूलाई डीडीसीका विभिन्न दुग्धजन्य उत्पादनहरूको प्याकेज हस्तान्तरण गरेकी थिइन्।
लामो समयदेखि नेपाली उपभोक्तालाई दूध, दही, घिउ, पनिर र चिजलगायतका दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको डीडीसीको प्रवर्द्धन अभियानलाई सरकारले थप प्राथमिकता दिने संकेत गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले पनि स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनमा जोड दिँदै नेपाली उत्पादनको उपभोग बढाउनुपर्ने सन्देश दिएका छन् ।









