नयाँदिल्ली । भारतको राजधानी दिल्लीस्थित जन्तर–मन्तर क्षेत्रमा हजारौँ प्रदर्शनकारी भेला भएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरेका छन्।
कक्रोच जनता पार्टी (सीजेपी) को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरूले परीक्षा प्रणालीमा देखिएका कमजोरी, एनईईटी प्रश्नपत्र चुहावट प्रकरण तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणालीसँग सम्बन्धित अनियमितताप्रति असन्तुष्टि जनाएका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले “धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्छ” लगायतका नारा लगाएका थिए। उनीहरूको भनाइमा परीक्षा व्यवस्थापनमा बारम्बार देखिने त्रुटिका कारण लाखौँ विद्यार्थी प्रभावित भएका छन्।

गाजियाबादबाट आएका २४ वर्षीय विशाल कुमारले साना तहका प्रश्नपत्र चुहावट घटनालाई समयमै नियन्त्रण गर्न सकेको भए एनईईटीजस्तो ठूलो परीक्षामा समस्या नआउने बताए। उनले शिक्षा मन्त्रालयबाट जवाफदेहिता सुनिश्चित गर्नुपर्ने र शिक्षामन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने माग गरे।
प्रदर्शनमा सहभागी तीन विद्यार्थीका अभिभावक राधेश्याम कैथालले शिक्षा क्षेत्रको डिजिटल रूपान्तरण आवश्यक भए पनि पर्याप्त तयारी, मूल्यांकन र शिक्षक प्रशिक्षणबिना लागू गर्दा समस्या बढ्न सक्ने बताए। उनले शिक्षा क्षेत्रमा देखिएका अनियमितताप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

त्यस्तै, मनोवैज्ञानिक सुगन्धाले आन्दोलनले सामाजिक सञ्जालबाट युवाहरूलाई प्रत्यक्ष सडकमा ल्याउन सफल भएको बताइन्। उनका अनुसार परीक्षा सम्बन्धी समस्याले धेरै विद्यार्थी मानसिक तनावमा रहेका छन् र केहीले ज्यानसमेत गुमाइसकेका छन्। यस्तो अवस्थामा जिम्मेवारी निर्धारण हुनुपर्ने उनको भनाइ थियो।
प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रमा पारदर्शिता, निष्पक्ष परीक्षा प्रणाली र जिम्मेवार नेतृत्वको माग गरेका छन्।








