काठमाडौं । विश्वव्यापी राइड सेयरिङ एप उबरले शुक्रबारदेखि नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौंमा औपचारिक कार्यक्रम गरी सेवा सुरु भएको घोषणा गरेको हो ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव, पूर्वाधार विकास मन्त्रालयका सचिवलगायत उच्च सरकारी अधिकारी पनि सहभागी भएका थिए । यो सुरुवातसँगै नेपाल उबरको एसिया प्रशान्त क्षेत्रको ११औँ बजार बनेको छ । एक दशकयता दक्षिण एसियामा उबरले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ । यसले उबरको विश्वव्यापी विस्तार यात्रामा रणनीतिक महत्त्वलाई थप सुदृढ बनाउने देखिएको छ ।

ADVERTISEMENT

नेपालमा उबरले चारपांग्र्रे सवारीअन्तर्गत उवर गो/उवर कम्फोर्ट तथा दुईपांग्रे सवारीअन्तर्गत उवर बाइक सेवा सञ्चालनमा ल्याएको हो । यी सेवाहरूले यात्रुहरूलाई सहरभित्र आवतजावतका लागि सरल, भरपर्दो र सहज विकल्प प्रदान गर्नेछन् । नेपाल अब ७० भन्दा बढी देशहरूमा फैलिएको उबरको विश्वव्यापी सञ्जालको हिस्सा बनेको छ ।

उबरको एसिया प्रशान्त क्षेत्रका राइड्स विभागका क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले, ‘हामी नेपालमा उबर सेवा सुरु गर्न पाउँदा उत्साहित छौँ र नेपाललाई उबरको विश्वव्यापी मोबिलिटी बजारको सञ्जालमा स्वागत गर्दछौँ । बढ्दो डिजिटल पहुँच, शहरी यातायातको आवश्यकता र फस्टाइरहेको पर्यटन अर्थतन्त्रले नेपाललाई एक गतिशील तथा तीव्र रूपमा विकसित भइरहेको बजार बनाएको छ । दक्षिण एसियामा एक दशकयता हाम्रो पहिलो नयाँ बजारका रूपमा नेपालले उबरको विकास यात्रामा महत्त्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले पर्यटन नेपाली अर्थतन्त्रको प्रमुख आधारहरूमध्ये एक रहेको भन्दै यातायात तथा पहुँचको सहजताले यस क्षेत्रको भावी विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । साथै, विश्वका ८० भन्दा बढी देशका लाखौँ यात्रुहरूले प्रयोग गर्ने विश्वसनीय प्लेटफर्मको रूपमा उबरको नेपाल आगमनले अन्तर्राष्ट्रिय पर्यटन नक्सामा नेपालको स्थानलाई थप मजबुत बनाउने विश्वास लिएको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले उबरलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी भएको बताए । उनले यो आधुनिक, डिजिटल र समावेशी यातायात प्रणाली निर्माणतर्फकोे यात्रामा एक महत्वपूर्ण उपलब्धि भएको बताए ।

नेपालको मोबिलिटी यातायात प्रणाली पछिल्ला वर्षहरूमा तीव्र रूपमा विकसित भएको छ । स्मार्टफोनको बढ्दो प्रयोग, उपभोक्ताहरूको बदलिँदो अपेक्षा, पर्यटन क्षेत्रको विस्तार तथा सहज शहरी यातायातको मागका कारण यो परिवर्तन आएको हो । नेपालमा उबरको प्रवेशले स्थानीय आवश्यकताअनुसार अनुकूलित, विश्वव्यापी रूपमा विश्वास गरिएको प्लेटफर्ममार्फत यात्राका थप विकल्पहरू उपलब्ध गराउने अवसर जुटाएको छ ।