काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्रतिनिधिसभाबाट बाहिरिएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा अचानक उपस्थित भएका बालेन सबै दलले सोधेका एक–एकवटा प्रश्नको संक्षिप्त जवाफ दिएलगत्तै बाहिरिएका हुन् ।
सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम सकिएपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेनलाई आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए । तर बालेन रोस्ट्रमबाट ओर्लिएर सिधै बाहिरिएका छन् ।
प्रधानमन्त्री बालेन संसदबाट बाहिरिएलगत्तै हंगामा भएको छ । विपक्षी दलका सांसदहरूले कुर्सीबाट उठेर सदनको कामकारबाही अवरोध गरिरहेका छन् ।
सभामुख अर्यालले एमाले सांसद ऐन महर, श्रम संस्कृति पार्टीका सांसद आरेन राई र ध्रुवराज राईको कार्यशैली र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । तर सांसदहरूले अवरोध गरिरहेका छन् ।









