काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र गौँथली तयार गरिएको छ । चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यमा अभिनेता अरुण क्षेत्री असामान्य देखिएका छन् ।
अभिनेता क्षेत्रीको असामान्य व्यवहार हेर्दा उनी कुनै रोगले पीडित देखिएको छ भने उनको विवाह कम उमेरकी युवतीसँग भएको देखाइएको छ । स्कुले विद्यार्थीझैँ देखिने उक्त युवतीको भूमिका अभिनेत्री सिम्रन खड्काले निर्वाह गरेका छिन् ।
हेर्दा असामान्य लाग्ने जोडीले विवाहपछि सामना गर्ने चुनौतीकै कथामा चलचित्र तयार गरिएको अभिनेता क्षेत्रीले बताए ।
‘पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेकी युवती र असामान्य व्यवहार देखाउने जोडीको कथामा चलचित्र तयार भएको छ । झट्ट हेर्दा असामान्य देखिने जोडीले जीवनमा भोग्ने उतारचढावमा शिक्षाले पार्ने प्रभाव चलचित्रमा देखाइएको छ । गम्भीर विषयमा सरल चलचित्र बनाउने कोसिस गरेका छौँ,’ उनले भने ।
चलचित्र सामाजिक विषयमा तयार गरिएको छ । चलचित्रमा अभिनेता क्षेत्रीसँगै सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गरेका छन् ।
डा भोला रिजालको कथामा आधारित चलचित्रलाई डा.कपिल रिजालले निर्देशन गरेका छन् ।
निर्देशक रिजालकै पटकथा रहेको चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका छन् ।
निर्देशक रिजालले गौँथलीले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताए । ‘हामीले चलचित्रमा घर र परिवारको महत्व देखाउन खोजेका छौँ, जहाँ शिक्षाको महत्त्वपूर्ण भूमिका छ’, उनले भने ।
चलचित्रलाई सुमन गिरी र निर्देशक रिजालले संयुक्त रूपमा निर्माण गरेका छन्। संगीतकार शम्भुजीत बाँस्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीले संगीत सृजना गरेको चलचित्र गौँथलीमा एलिस कार्कीले पाश्र्वसंगीत सृजना, मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।








