काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सडक, सुरुङमार्ग, पुल तथा रेल पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विभिन्न राष्ट्रिय गौरवका आयोजनामा अर्बौं रुपैयाँ बजेट विनियोजन गरेको छ।
सरकारले प्रमुख सडक चोकमा ट्राफिक संकेत, चोक सुधार, सडक रेखाङ्कन, क्यास ब्यारियर तथा डिभाइडर जडान र मर्मतका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ। महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसी क्यामेरासहितको आधुनिक ब्लु बस सेवा सञ्चालनको तयारी पनि गरिएको छ।
बर्दिबासदेखि काठमाडौं–तराई मधेश द्रुतमार्ग प्रस्थान बिन्दुसम्म रेलमार्ग निर्माण अगाडि बढाइने भएको छ। साथै निर्माणाधीन बथनाहा–विराटनगर तथा जनकपुर–जयनगर–बर्दिबास रेलमार्ग सम्पन्न गर्न बजेट व्यवस्था गरिएको छ।
काठमाडौं उपत्यकालगायत प्रमुख सहरी सडकलाई धुलोमुक्त तथा खाल्टाखुल्टीमुक्त बनाउन राष्ट्रव्यापी मर्मत सम्भार अभियान सञ्चालन गरिने भएको छ। यसका लागि २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ।
राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायु अनुकूल संरचना निर्माण तथा पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालन गर्न ३ अर्ब १७ करोड रुपैयाँ छुट्याइएको छ।
सरकारले आगामी वर्ष करिब एक हजार किलोमिटर सडक कालोपत्रे तथा २७५ वटा सडक पुल निर्माण गर्ने लक्ष्य राखेको छ।
पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ। एक हजार २८ किलोमिटर लामो यस राजमार्गलाई पाँच वर्षभित्र चार लेनमा विस्तार गर्ने लक्ष्य राखिएको छ। कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्ड यसै वर्ष सम्पन्न गरिनेछ भने काँकडभिट्टा–लौकही, कमला–बागमती, बुटवल–गोरुसिङ्गे र धानखोला–लमही खण्डमा आगामी वर्ष स्तरोन्नति गरिनेछ। साथै बागमती–पथलैया, नारायणगढ–हेटौंडा र गोरुसिङ्गे–चन्द्रौटा सडकखण्डको स्तरोन्नति सुरु गरिनेछ।
काठमाडौं–तराई मधेश द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरिनेछ भने लिंक रोड निर्माण पनि सुरु हुनेछ।
हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ४ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस अन्तर्गत घना बस्ती भएका क्षेत्रमा राजमार्ग चौडा गरिने र ८ वटा पुल निर्माण सम्पन्न गरिनेछ।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला–गमगढी सडक स्तरोन्नतिका लागि बजेट व्यवस्था गरिएको छ।
पुष्पलाल मध्यपहाडी राजमार्गका लागि २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको छ। आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ६५ किलोमिटर सडक स्तरोन्नति तथा ५ वटा पुल निर्माण गरिनेछ।
मदन भण्डारी राजमार्ग अन्तर्गत २५ किलोमिटर सडक कालोपत्रे तथा पुल निर्माणका लागि १ अर्ब ४६ करोड रुपैयाँ छुट्याइएको छ।
राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक अन्तर्गत ४० वटा ठूला पुल निर्माण तथा स्तरोन्नतिका लागि ९ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–पोखरा चार लेन सडक निर्माण शीघ्र सम्पन्न गरिनेछ भने मुग्लिङ–आँबुखैरेनी खण्डको निर्माण सुरु हुनेछ। नागढुङ्गा–मुग्लिङ सडकखण्डमा ४० किलोमिटर स्तरोन्नति गरिनेछ। नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याइने सरकारले जनाएको छ। यस सडकखण्डका लागि ६ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
कर्णाली कोरिडोरमा ३१ किलोमिटर सडक कालोपत्रे तथा ग्राभेल गरिनेछ भने कालीगण्डकी कोरिडोरमा २१ किलोमिटर र कोशी कोरिडोरको उत्तरी खण्डमा १५ किलोमिटर सडक कालोपत्रे गरिनेछ। यी तीनवटै कोरिडोरका लागि ६ अर्ब २५ करोड रुपैयाँ बजेट छुट्याइएको छ।
गल्छी–स्याफ्रुवेशी–रसुवागढी सडक स्तरोन्नतिका लागि १ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा विकास गरिनेछ भने सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
महाकाली कोरिडोर अन्तर्गत दार्चुला–टिङ्कर सडक ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइएको छ। साथै मेची, अरुण, तमोर, भेरी, सेती कोरिडोर तथा खुटिया–दिपायल सडक स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ।
काठमाडौं चक्रपथ विस्तार अन्तर्गत कलंकी–बसुन्धरा खण्ड विस्तार सुरु गरिनेछ भने बसुन्धरा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिनेछ।
त्यसैगरी टोखा–छहरे सुरुङमार्ग, जाजरकोट–जुम्ला सुरुङमार्ग, खुर्कोट–चियाबारी, थानकोट–चित्लाङ, मझिमटार–शक्तिखोर तथा चिसापानी–बबई सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिने सरकारको योजना छ।








