काठमाडौं । केही दिनयता रास्वपा सांसद सुधन गुरुङ पुनः सक्रिय हुन थालेका छन् । २६ दिन गृहमन्त्री हुँदा उनको जस्तो कार्यशैली देखिएको थियो पछिल्लो समय त्यही दृश्य देखिन थालेको छ । सुधनको यो रुपलाई धेरैले उनी फेरि गृहमन्त्रीका रुपमा सिंहदरबार फर्कन लागेको अनुमान गरिएको छ ।
छानबिन समितिको प्रारम्भिक अनुसन्धानमा आरोप पुष्टि हुने आधार नदेखिएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह बालेन गुरुङलाई पूर्ववत् जिम्मेवारीमा फर्काउने अन्तिम तयारीमा रहेको स्रोतले बतायो । प्रधानमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार जेठ १५ को बजेटअघि नै गुरुङले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी छ ।
स्रोत नखुलेको सम्पत्तिबाट सेयर खरिद गरेको तथा विवादास्पद व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको भन्दै विरोध भएपछि मन्त्री भएको २६ दिनमा गुरुङले गत ९ वैशाखमा पदबाट राजीनामा दिएका थिए । गृह मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री शाह आफैंले राखेका छन् ।
प्रतिनिधिसभामा विपक्षीले गृहमन्त्री नियुक्त नगर्नुको कारणबारे प्रधानमन्त्री शाहसँग जवाफ माग्दै आएका छन् । सुधन गुरुङको विषयमा विपक्षीले प्रश्न गर्ने डरले प्रधानमन्त्री राज्य व्यवस्था तथ सुशासन समितिको बैठकमा समेत जान सकेका छैनन् ।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेको समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह–न्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । अध्यक्ष भण्डारीलाई अख्तियारको आयुक्त बनाउने गरी छानबिन प्रतिवेदनमार्फत गुरुङलाई चोख्याइन लागिएको स्रोतले बताएको छ ।
समितिलाई गुरुङबारे सार्वजनिक रुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र सुझावसहित प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो । समितिले पाएको म्याद सकिन केही दिन मात्र बाँकी छ । तोकिएकै समयसीमाभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी रहेको एक समिति सदस्यले बताए । छानबिन प्रतिवेदनमा कुनै कैफियत नदेखिएको भन्दै सुधनलाई पूर्ववत् जिम्मेवारी दिन लागिएको बताइन्छ ।








