काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय ले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता जारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुनः संरचना भई युवा, श्रम तथा रोजगार मन्त्रालय बनेपछि कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्न आचारसंहिता लागू गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कर्मचारीको व्यवहारलाई निष्पक्ष, पारदर्शी, सेवामूलक र अनुशासित बनाउने उद्देश्यसहित आचारसंहिता ल्याइएको हो। यसले सेवा प्रवाहलाई प्रभावकारी, जवाफदेही र मर्यादित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नयाँ आचारसंहितामा कर्मचारीको व्यक्तिगत आचरण, कार्यालय व्यवहार, आर्थिक अनुशासन, गोपनीयता संरक्षण तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ। आचारसंहिताअनुसार सेवाग्राहीसँग शिष्ट, सम्मानजनक र मर्यादित व्यवहार गर्नुपर्नेछ भने कुनै पनि प्रकारको घुस, उपहार वा अनुचित लाभ लिन नपाइने व्यवस्था गरिएको छ।
त्यस्तै, पद र अधिकारको दुरुपयोग गर्न, व्यक्तिगत स्वार्थका लागि निर्णय प्रभावित पार्न तथा सरकारी स्रोत–साधन निजी प्रयोजनमा प्रयोग गर्न निषेध गरिएको छ।
मन्त्रालयले कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, निर्धारित पोशाकमा उपस्थित हुन, सहकर्मीसँग सहयोगी सम्बन्ध कायम राख्न तथा कार्यालयको गोपनीयता संरक्षण गर्न निर्देशन दिएको छ। सेवाग्राहीसँग सम्बन्धित संवेदनशील सूचना वा कागजात अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ।
आचारसंहिताले सामाजिक सञ्जाल प्रयोगलाई पनि व्यवस्थित गरेको छ। कार्यालय समयभित्र मोबाइल वा कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाइएको छ। साथै मन्त्रालय वा निकायको नामबाट सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत पहिचान खुलाउन नपाइने व्यवस्था गरिएको छ।
त्यसैगरी कृत्रिम बुद्धिमत्ता (एआई), तथ्यांक विश्लेषण तथा मेसिन सिकाइ जस्ता प्रविधिको प्रयोग गर्दा गोपनीयता, निष्पक्षता र उत्तरदायित्वको सिद्धान्त पालना गर्नुपर्ने प्रावधान समावेश गरिएको छ।
कार्यालय समयबाहेक पनि सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको मर्यादा र प्रतिष्ठामा असर नपर्ने गरी सतर्कता अपनाउनुपर्ने आचारसंहितामा उल्लेख छ। सरकारी नीतिविरुद्ध भ्रम फैलाउने, संस्थाको प्रतिष्ठामा आँच पुग्ने सामग्री प्रकाशन गर्ने वा गोप्य सूचना सार्वजनिक गर्ने कार्यलाई अनुशासनहीनता मानिने व्यवस्था गरिएको छ।
यसैगरी कर्मचारीले लैंगिक समानता, समावेशिता, मानवअधिकार तथा पेशागत नैतिकताको सम्मान गर्नुपर्ने र कुनै पनि प्रकारको विभेद, दुर्व्यवहार वा यौनजन्य उत्पीडन गर्न नहुने प्रावधान राखिएको छ।
मन्त्रालयले आचारसंहिता उल्लंघन गर्ने कर्मचारीमाथि प्रचलित कानुनअनुसार विभागीय कारबाही गरिने जनाएको छ। साथै सबै कर्मचारीले आचारसंहिता पालना गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।









